प्रीय तिमीलाई मेरो भ्यालेन्टाइनको उपहार

प्रीय
दुई दिनपछि संसारभरका आधुनिक हुँ भन्ने धेरै प्रेमीहरुले भ्यालेन्टाइन डे मनाउँदैछन्। प्रणय दीवसकै लागि धेरै बोटबाट गुलाबका फूल छिनिइसकेका छन्, शहरका फूल र कार्ड पसलमा ती पुग्दै होलान्। खोई किन हो मैले यसपटक बोटबाट छिनालिएको गुलाबको फूलमा तिमीसँग प्रेम व्यक्त गर्ने आकर्षण देखिन। आर्चिज ग्यालेरीमा पाइने बेलुनको मुटुले तिमीलाई प्रणयको सन्देश दिन सक्छ भन्नेमा मलाई शंका छ। त्यसैले यो पत्र तिमीलाई प्रणय दीवसको मेरो उपहार।

मैले जीवनमा कति पटक प्रणय दिवस मनाए कुन्नी। जब मैले प्रेमलाई बुझ्छु भन्ने ठानें त्यो बेला सन्त भ्यालेन्टाइनको बारेमा सुनेकै थिइन। त्यसैले किशोर र यौवन अवस्थाका मेरा धेरै वर्ष, भ्यालेन्टाइन डे कहिले आयो र कहिले गयो भन्ने पत्तै नपाई बित्यो। जब मैले भ्यालेन्टाइन डे को महत्व बुझें त्यसपछि पनि मैले हरेक वर्ष यो दिनलाई उत्सवको रुपमा मनाएको छैन। कुनै वर्ष मनायँ कारण त्यो वर्ष मेरो प्रेमिका थिई र कुनै वर्ष मनाइन कारण त्यो वर्ष मेरो प्रेमिका थिइन।

मैले पहिलोपटक १० वर्ष अगाडि रमालाई भेटेपछि प्रेम दिवस मनाएको हुँ। उ मेरो कक्षाको लद्दु केटी थिई र म पढाइमा अब्बल थिएँ। अहिले सम्झँदा लाग्छ, म उसँग केले आकर्षित भएँ हुँला। उसको बा पनि मेरो बा जस्तै शिक्षक भएर हो कि वा उसले टेनिस राम्रो खेल्ने भएर हो। तर मलाई उसले खेलेको कति पनि चित्त बुझ्दैनथ्यो, कारण म खेलमा बेकम्मा थिएँ। मेरा कक्षाका केटाहरु पनि उसँगै टेनिस खेल सिक्ने हुँदा इर्श्याले गर्दा पनि उसले नखेलिदिए हुन्थ्यो भन्ने मलाई लागिरहन्थ्यो। तर मैले सोचेर के हुन्थ्यो र। उसको लद्दुपना र मेरो वेकम्माको बाबजुद पनि मैले उसलाई प्रेम गरें।
खासमा त्यो बेला हाम्रो कक्षाको औसत केटीभन्दा रमा सुन्दर चाहिँ थिइ कि भन्ने मलाई लाग्थ्यो। तर त्यो मलाई मात्र लागेको थियो भन्ने कुरा केही दिनभित्रै नै मैले रमाका बारेमा आफ्नै साथीलाई भन्दा थाहा पाएँ। उसले रमा भन्दा शारदा राम्रो भन्यो किनभने उसलाई शारदा मन पर्दोरहेछ।

म अर्कै स्कूलबाट त्यो विद्यालयमा पढ्न गएको थिएँ। त्यसैले मैले अर्को विद्यालयमा रहँदा मलाई प्रेम प्रस्ताव गर्ने केटीका बारेमा रमालाई बताएँ। उ रिस र इर्श्याले मुर्मुरेली भन्ने सोचेको तर उसले त झन् रमाइलो मानेर पो सुनिरही। मलाई थप विश्वास भयो वास्तवमा रमा लद्दु नै छे।

पहिलो मेरो भ्यालेन्टाइन डेको बारेमा बताउँदै थिएँ। रमालाई भ्यालेन्टाइन डे को कुनै पत्तो थिएन। कारण उसले कहिल्यै पत्रिका पढ्थिन र रेडियो र टिभीमा पनि उसको चाख थिएन। मैले नै प्रणय दिवसको दिन उसलाई फूलको एउटा पोस्टकार्ड पठाएँ। त्यतिबेला हामी बस्ने ठाउँमा गुलाबको फूल थिएन। सायद भए पनि मैले पठाउँथिन होला कारण फूलको महत्व न उसले बुझेकी थिइ न मैले बुझेको थिएँ।

भ्यालेन्टाइन डेको साँझ उसलाई भिडियो हलको पछाडि भेट्न बोलाएँ। उ आइ। मैले उसलाई भ्यालेन्टाइन डे को महत्व बताएँ। सन् २७० तिर रोमका सम्राट क्लाउडियसले आफ्नो शासन टिकाइराख्न बिहेमा लगाएको प्रतिवन्ध, त्यसविरुद्ध भ्यालेन्टाइनले गरेका संघर्ष र उनले क्लाउडिसका सैनिकहरुको गोप्य रुपमा गरिदिएको बिबाह तथा फाँसीमा चढेर प्रेमका लागि दिएको बलिदानको चर्चा गरें।

उ मख्ख थिइ, मलाई पाएर हो कि मेरो कुरा सुनेर। मैले उसलाई त्यो साँझ चुम्बन गरें र उसको शरीर सुमसुमाएँ। उसले आनाकानी गरी, तर मैले छोडिन। त्यो साँझ मेरो पहिलो अनुभव थियो रतिक्रियाको। म आफैले कसैलाई मन पराएर गरेको चुम्बन र रतिक्रिया त्यही नै पहिलो हो। रमाले मलाई ह्याप्पी भ्यालेन्टाइन भनेर एक पटक पनि भनिन। तर म दुखी पनि भइन।

अर्को वर्ष मैले भ्यालेन्टाइन मनाइन। रमाको बिहे भइसकेको थियो। मसँग भ्यालेन्टाइन डे मनाउनका लागि मेरो नयाँ शहरमा भ्यालेन्टाइन नै थिएन। मैले त्यो वर्ष प्रणय दिवसमा चाखै राखिन, त्यो भने होइन। म त्यो दिन बिहानै उठेर नुहाएँ। त्यतिबेला टिभीमा धेरै विज्ञापन आउने पर्फ्युम छर्कें र बजारतिर गएँ। पसलमा असाध्यै सजाएर राखेका गुलाब देख्दा किन्न मन लाग्यो। एउटा रातो गुलाब पातलो जाकेटको भित्री खल्तिमा हालेर केही पार्क र रेष्टुरेन्टमा गएँ, बा कतै भ्यालेन्टाइन डे कै दिन नयाँ भ्यालेन्टाइन पाइहालिन्छ कि भनेर। तर भेट्टाइन। रेष्टुरेन्ट चाहर्दा चाहर्दै पिएको कफीले गर्दा घर आएर खाना खाने मन थिएन, गुलाब डस्टबिनमा हुत्ताएँ र जीउलाई ओछ्यानमा फालें। त्यो दिन मेरो मनले नरमाइलो मानेको मैले प्रष्टै थाहा पाएँ, अरुले जोडी बाँधेर हिडेको, बसेको र गफ गरेको देखेर मनमा के के तरङ्ग उठे उठे।

त्यसपछिको वर्ष भने मसँग भ्यालेन्टाइन थिइ, रिता। उ र म भन्दा जुनियर थिइ कलेजमा। हामी एउटै विषयको अध्ययन गर्थ्यौं। प्रयोगात्मक कक्षामा तल्ला कक्षाका विद्यार्थीलाई सहयोग गर्न टिचरले एक जना सिनियर विद्यार्थीको व्यवस्था मिलाएका हुन्थे। त्यो वर्ष टिचरले मलाई छानेका थिए। त्यसै क्रममा रितासँग भेट भयो। उ अरु भन्दा टाठी थिइ, उसले सोध्ने प्रश्नका आधा पनि जवाफ दिन म सक्दैनथें। मलाई यस्तै केटी मन पर्थ्यो जसको विद्वताको अगाडि म नतमस्तक हुन परोस्। जसका धेरै प्रश्नको जवाफ मैले दिन नसकुँ। मैले जे भन्दा पनि ङिच्च दाँत देखाएर हाँस्दै सही थाप्ने र तर्क गरेर मलाई नपछार्ने केटीमा मेरो रुची थिएन।

त्यसैले मैले पनि अरु विद्यार्थीमा भन्दा रितामा धेरै रुची दिएँ। आँखा जुधे। बस्, मलाई भन्दा प्रणय दिवसको सुर्ता उसलाई बढी भयो। उसले नै बोलाइ। उसले नै गुलाब दिइ। उसले नै चल्तिको रेष्टुरेन्टमा लगी। हामी दुबैले धेरै गफ गर्यौं, प्रेमका, जीवनका र भविश्यका। साँझ उ मेरो डेरामा आइ। हामीले कफी पियौं, खाना बनायौं। एक अर्कालाई खुवायौं र सँगै रात बितायौं।

त्यसपछिको अर्को वर्ष पनि मैले रितासँग नै भ्यालेन्टाइन डे मनाएँ। त्यो वर्ष उ पढाईका लागि विदेश जाने तरखरमा थिइ। भ्यालेन्टाइन डे कै लागि भनेर विदेश यात्रालाई केही पर सारेकी। त्यो वर्षको भ्यालेन्टाइनको बन्दोबस्त मैले गरेको थिएँ। रितालाई मन पर्ने रेष्टुरेन्ट लिएर गएँ। वाइन मगायौं। दुबै जना मातिन्जेल वाइन पियौं। राती उसले घर जानै पर्ने बताइ। मैले ट्याक्सी बोलाएँ। उसलाई घर छोडिदिएर आएँ। भ्यालेन्टाइनको साँझ मसँग कुनै उत्साह बाँकी थिएन।

अर्को वर्ष प्रणय दिवस मनाउका लागि मसँग कोही भ्यालेन्टाइन थिएन। रिता विदेशमा थिइ। इमेल लेख्न हामी दुबै अल्छि थियौं। मैले त्यो दिनभर कम्प्युटर अगाडि बसेर बिताएँ। उ अनलाइन देखिली र ह्याप्पी भ्यालेनटाइन भन्ली भन्ने उत्साह थियो। त्यति नभए पनि अफलाइन मेसेज अथवा इमेल भए पनि आउला कि भन्ने झिनो आशा थियो। उसले केही लेखिन। मैले पनि लेखिन। लाग्छ, बा उसले पो मैले केही मेसेज पठाउँछु भनेर कुरेर बसेकी थिइ कि। जे होस् कम्प्युटर स्क्रिनमा टाँसिएर एफएम सुन्दै त्यो वर्षको भ्यालेन्टाइन डे बित्यो।

फेब्रुअरी १४ आउन धेरै समय लाग्दैन। फेरि आयो नयाँ वर्ष अनि प्रणय दिवस। रिताको र मेरो खवर आदान प्रदान नभएकै महिनौं भइसक्याथ्यो। मैले जागिर सुरु गरिसकेको थिएँ। अफिसमा एकै दिन ज्वाइन गरेका हामी सत्र जना थियौं। ती मध्येकी रुपाले मलाई सुनाइ उसका श्रीमान् विदेशमा छ, छोरीसँग उ अफिस नजिकै बस्छे। मलाई उसमा कुनै रुची यसकारण थिएन कि उ अहिलेसम्म मैले देखेजानेका केटीहरु मध्यै सबैभन्दा राम्री थिइ। म आँफूलाई नराम्रो ठान्ने भएकाले मलाई राम्री केटीले मसँग हिमचिम बढाउँदैनन् भन्ने लाग्छ। खासमा राम्री केटीमा धेरैले आँखा लगाएका हुन्छन र म जीवनमा कुनै किसिमको खतरा मोल्न नचाहने परें।
कुनै रुपवतीले मसँग प्रेमका दुई चार शब्द व्यक्त गर्यो भने पनि त्यो स्वार्थको लागि मात्र हो भन्ने म ठान्छु। फेरि रुपाको त उमेर मेरो भन्दा छिप्पिएको थियो र उसले भन्दा काम चाहिँ म राम्रो गर्थें।

मलाई 'टर्निङ प्वाइन्ट' के हो थाहा छैन तर सायद अफिसको कुनै पार्टी पछि हामीले गरेका अध्यात्मका गफले हो कि जस्तो लाग्छ रुपा र म नजिकियौं। उसले नै मलाई भ्यालेन्टाइन डे सम्झाइ भन्दा पनि हुन्छ। रातो गुलाब र बेलुने मुटुसँगै घडी थियो उसले दिएको उपहार। विदेशबाट श्रीमानले उसका भाइका लागि पठाएको पो हो कि जस्तो लाग्छ मलाई त्यो घडी। उसले रेष्टुरेन्ट जाने प्रस्ताव राखी। म उसलाई लिएर कुनै रेष्टुरेन्टमा जान लजाइरहेको थिएँ। त्यहाँ चिनेका कोही भेट हुन सक्थे अझ आफ्नै सहकर्मी।

त्यसैले एउटा एकदम कम मानिस जाने रेष्टुरेन्ट खोजें। साथीभाइसँग कहिल्यै नगएको अन्डरग्राउन्ड रेष्टुरेन्टमा हामी दुई जना छिर्यौं। त्यो त क्याबिन रेष्टुरेन्ट रहेछ। त्यहाँ हामी जोडी जाँदा भद्दा मेकअपमा बसेका वेट्रेसहरु छक्क परेका थिए। उनीहरुको गाला तान्ने र शरीर चिमोट्ने मानिस हामी थिएनौं। तिनले टिप्सको आशा मारेका थिए। हामी क्याबिनको गन्ध र क्याबिन बाहिर राखिएको पर्दाको फोहरका कारणले धेरै बेर बस्न नसक्ने अवस्थामा थियौं। त्यसमाथि खाना मुखमा लानासाथ हामी बाहिर निस्क्यौं। चाउमिन अमिलो र चर्को थियो।
मलाई घरै आउने मन थियो। तर रुपाको मन मलाई छोड्ने थिएन। उसले कुनै होटलमा जाने कर गरि। मैले प्रहरीमा जागिरे साथीलाई फोन गरें, यो होटलको यति नम्बरमा छु भनेर। कतै प्रहरीले छापा नमारोस् र पक्राउमा नपरियोस् भन्ने कामना गर्दै। हामीले त्यो रात शहरको एउटा होटलमा बितायौं। बिहान उठ्दा १० वटा वियरका बोतल बेड मुनि थिए। सँगै बाहिर निस्कनासाथ मेडिकल हलमा पसेर रुपाले एउटा पिल्स किनेकी मैले देखें।

त्यो वर्षको भ्यालेन्टाइन मैले चाहेर पनि बिर्सन सक्ने भइन। अर्को वर्ष भने मैले भ्यालेन्टाइन मनाइन। म ट्रेकिङको लागि मुक्तिनाथ निस्केको थिएँ। हामी सात जना केटैकेटा थियौं। हामी कसैका पनि प्रेमिका थिएनन् होला र डायरी पनि मेन्टन नगर्ने भएर होला कसैले पनि फेब्रअरी १४ को प्रणय दिवसको कुरै गरेन। फेब्रअरी १३ र १५ जस्तै भयो फेब्रुअरी १४ पनि। अहिले सम्झदाँ लाग्छ त्यो दिन हामी मार्फाबाट हिड्दै कागबेनी पुगेका थियौं। काली किनारमा बग्ने हावाले साना गिटीसँगै प्रणय दिवसलाई पनि उडाएको थियो। कागबेनीमा माटाले छाएको पुरानो होटलका युवा साहु-साहुनीले पनि भ्यालेन्टाइन डे को सम्झना गराएनन्।

त्यस वर्षपछिको भ्यालेन्टाइन भने अलिक फरक रह्यो। रुपाका श्रीमान् विदेशबाट फर्केपछि रुपाले जागिर छोडि। मेरो त उ प्रति कुनै आकर्षण थिएन। उसको पनि श्रीमान् फर्केपछि म प्रति आकर्षण रहेन। अफिस कै अमितासँग मेरो रुचि बढेको थियो। उ मेरो कामको आवश्यक भन्दा धेरै प्रशंसा गर्थी। म पनि आफूले सकेसम्म उसलाई काममा सहयोग गर्थें।

उसको र मेरा धेरै रुची उस्तै थिए। हामीले दुबैलाई गीत सुन्न, फुटबल र फिल्म हेर्न मन पर्दथ्यो। हामी हरेक बुधबार फिल्म हेर्न जान्थ्यौं। साताको मध्य दिनमा फिल्म हेर्न जाँदा साताभर नै उत्साह बढ्थ्यो। रंगशालामा फुटबल हुँदा हरेक शनिबार हामी त्यहाँ पुग्थौं। हामीले एक अर्कालाई गीतका सिडी उपहार मात्र दिन्नथ्यौं गीतमा प्रयोग भएको शब्द, संगीत र गायकीका बारेमा धेरै बेर छलफल पनि गर्दथ्यौं। उसको लिरिक्समा एउटा एल्बम बजारमा निस्केको पनि थियो। मैले पनि पत्रिकामा कहिलेकाहिँ गीत संगीतका बारेमा लेख्थें। छुट्टिका बेला हामी नगरकोट र धुलिखेल पनि सँगै घुम्न पनि गयौं आठ दश पटक।

घन्टौं गफ गर्ने, सँगै फिल्म हेर्ने, कहिलेकाही घुम्ने तथा उसैले घरमा नै खाना खान बोलाउने हुँदा मलाई लाग्यो अमिता र म एक अर्कालाई प्रेम गर्छौं। मैले भ्यालेन्टाइनको अवसर पारेर एउटा रातो गुलाब किनें उसलाई मन पर्ने संगीतकार ए आर रहेमानको एल्बमसँगै गुलाब लगेर उसको टेबलमा राखिदिएँ। फेसबुकको मेसेज बक्समा साँझको डिनर सँगै खाने र यसपटक भ्यालेन्टाइन डे पूर्णिमाकै दिन परेकाले रातभर तारा गन्दै सँगै बिताउने प्रस्ताव पठाएँ।

उसले प्रभाव परोस् भन्दै मैले त्यो दिन उसले नै उपहार दिएकी सुइटर लगाएको थिएँ। उ अफिस आइ मैले उपहार दिएको जुत्तामा। म फेसबुक मेसेज बक्समा आउने मेसेज कुरिरहें उसको टेबलमा नजर डुलाउँदै। उसले आउनासाथ गुलाबको फूल र एल्बम ड्रअर भित्र हाली। राम्रोसँग हेरे जस्तो पनि लागेन। उसले फेसबुक खोलेको पनि थाहा पाएँ। उ अनलाइनमा थिई। तर रिप्लाइ केही आएन। एक मनले सोचें ह्याप्पी भ्यालेन्टाइन भनेर कुरा सुरु गरुँ। अर्को मनले रोक्यो, अहँ हुँदैन। मैले उपहार दिएर तथा मेसेज पठाएर प्रेमको सुरु गरिसकेको छु। अब उसैको उत्तर पर्खिनुपर्छ। मैले कुरिरहें। केही उत्तर आएन। भ्यालेन्टाइन डे दिनभर तनावमै बित्यो।

मलाई केही नसोधी त्यो दिन उ अरु साथीहरुसँग छुट्टै लन्च गइसकिछ। अफिस छुट्टी हुने बेलासम्म पनि उसको कुनै जवाफ आएन। त्यती लामो समयसम्म जवाफ नआएपछि मलाई लाग्यो मेरो प्रणयको प्रस्ताव उसले अस्वीकार गरी। म दिक्दारीका साथ घर फर्कें। साँझ साढे सात बजेतिर मोबाइलमा मेसेज आयो, मैले तिमीलाई कहिल्यै त्यसरी हेरेकी थिइन। अब तिमीसँगको मित्रता सकियो।



मेरो कोही भ्यालेन्टाइन छैनन् भनेर क्यालेन्डर नपल्टिने कुरै भएन। समयको आफ्नै गतिमा अर्को वर्ष फेरि भ्यालेन्टाइन आउने पक्का थियो। अमिताको मेसेजले छिया पारेको मेरो मुटुको घाउ पुरिसकेको थियो। जीवनलाई नै गम्भीर रुपमा नलिने म, अमिताले प्रेमीको रुपमा हेरिन त के भयो भनेर त्यसमा धेरैबेर गम्भीर हुने कुरै भएन। मैले पनि त्यो दिनबाट उसलाई साथीको रुपमा हेरिन। बरु उसँगको जागिर छोडिदिएँ।


मैले शहरमा भर्खरै खुलेको एउटा टिभीमा काम पाएँ, त्यसपछि अमितासँगको खेल खत्तम। मलाई मन पर्नै कार्यक्रमको प्रोड्युसर भएँ। पुरानो प्रोड्युसरले जागिर छोडेपछि मलाई टिभीले त्यो जागिर दिएको थियो। कार्यक्रम छायाङ्कनका लागि हामी देशका विभिन्न ठाउँमा जानु पर्दथ्यो। नेताहरु, वरिष्ठ कर्मचारीहरु तथा समाजका लब्ध प्रतिष्ठितसँग जनताले प्रत्यक्ष संवाद गरुन् भन्ने कार्यक्रमको उदेश्य थियो।


एकपटक कार्यक्रम उत्पादनका लागि म टिमसँगै पोखरा गएको थिएँ। त्यही हों मैले एलिनलाई भेटेको। उ मनोविज्ञानमा एमए गरेकी २९ वर्षीय चेक केटी रहिछे। सडक र टुहुरा बालबालिकालाई संरक्षण दिइरहेको काठमाडौंको एक चिल्ड्रेन होममा तीन महिनाका लागि भोलियन्टिर भएर आएकी। उ पोखरा घुम्न गएकी रहिछ। अघिल्ला रातको ह्याङमा रहेका साथीहरु नउठ्दै म होटलको बगैंचे रेष्टुराँमा पुगेको थिएँ। उसले कफि मगाएकी थिई। म उ नजिकैको टेबलमा गएर बसें। खुलेको मौसमको कुरा गरेर उसले नै बात मार्न इच्छा जाहेर गरेकी हो। एकछिनको कुराकानीपछि मैले काठमाडौंमा पनि भेटौं न भन्ने प्रस्ताव राखें। उसले मेरो नम्बर मागी र आफ्नो नम्बर दिई।


काठमाडौं फर्केको एक साता नहुँदै उसको फोन आयो। हामी ठमेल गएर बियर पियौं। नेपालको राजनीति, समाज र यहाँका कला संस्कृतिको विषयमा मैले चर्चा गरें। भेट बाक्लिन थाल्यो। पुरानो जागिरमा भन्दा नयाँ जागिरमा मलाई धेरै फुर्सद थियो। एलिन र म सँगसँगै काठमाडौं, ललितपुर र भक्तपुरका दरबार स्क्वायरहरु घुम्न निस्कन्थ्यौं। उसले पटक पटक आफ्नो राजधानी परागसँग काठमाडौंलाई दाँजेर मलाई सुनाई। ओल्ड टाउन स्वायरसँग असनहुँदै हनुमानढोका, चाल्स ब्रिजसँग पशुपतिनाथ मन्दिर, पराग क्यास्टलसँग नारायणहिटी दरबार ओ हो कति हो कति दाँजेकी।


उ यहाँ रहेकै बेला भ्यालेन्टाइन डे पर्यो, त्यो पनि शनिबार। मैले उसलाई भ्यालेनटाइन डे को आमन्त्रण दिएँ। ठमेल सात घुम्तिको भिया भिया रेष्टुरेन्ट विदेशी दम्पतिले चलाएका थिए। हामी त्यही गयौं। त्यो प्रणय दिवसका दिन काठमाडौंमा पानी परिरहेको थियो। हामी दुबैले वाइन पियौं। दुई बोतल वाइनले लागेर हो कि उसले मलाई पराग घुम्ने निम्ता दिदैं किस गरी। मैले पनि वरपरका टेबलमा बसेकालाई वास्ता नगर्दै उसलाई किस गरें। त्यसो त हामी कुनाको टेबलमा थियौं। एकछिनपछि मलाई अलिक असजिलो पनि लाग्यो। होटलको म्यानेजरले तपाइहरु तल रुममा जानुहुन्छ भनेर सोध्यो। मैले हुन्छ भनें। हामी दुबै जना रेष्टुरेन्टको मुनि रहेको कोठामा गयौं।

मलाई पराग जाने कुराले कुतकुत्यायो। मैले तैंले जिस्क्याएकी भनेर सोधें। उसले झोलाबाट मेरो ल्यापटप झिक्न भनी। अनलाइन टिकट बुकिङ वेवपेजमा गएर तीन महिनापछिको काठमाडौं - दिल्ली - मस्कोहुँदै परागसम्म मेरो लागि टिकट बुक गरी। टिकटको थप जानकारी मेरो इमेलमा आउने गरी भरिदिई। म छक्क परें। त्यसपछि किस मैले गरें उसको शरीरका विभिन्न भागमा। काठमाडौंमा झरी परेको दिन, हामी पनि खुब वर्षियौं एक आपसमा, रेष्टुरेन्ट मुनिको सानो कोठा भित्र। मैले कुनै पनि विदेशी महिलाको नाङ्गो शरीर पहिलोपटक प्रत्यक्ष हेरें।


मलाई त्यो साँझ ठमेलकै एक होटलमा रात बिताउन पाए हुन्थ्यो भन्ने लागिरह्यो। एलिनसँग छुट्टिने मनै भएन। तर उ जसरी पनि चिल्ड्रेन होममै फर्किने जिद्दी गरी, मैले कारण बुझिन सायद अब बाँकी नै के थियो र भन्ने उसलाई लागेर पो हो कि।


त्यसको केही समयपछि उसको जाने दिन आयो। उसले भारतमा १५ दिन घुमेर पराग फर्कने कुरा गरेकी थिई। भारतमा पनि तँ सँगै हुने भए कति रमाइलो हुन्थ्यो भनी। मैले जागिरबाट बिदा नमिल्ने उसलाई बताएँ र इमेलमा सम्पर्कमा रहने विश्वास दिलाएँ। उ गएकै दिन इमेल लेखें। दिनदिनै उसको इमेलको प्रतिक्षामा बस्न थालें। एक साता पछि फेरि अर्को इमेल पठाएँ। तर दुबै इमेलको जवाफ आएन। करिब २० दिनपछि फेरि अर्को इमेल पठाएँ। अहँ कुनै जानकारी नै आएन।
उसको इमेल आयो कि भनेर हरेक दिन झटपट इनबक्स खोल्थें। एकदिन रसियन एयरलाइन्स एयरोफेल्टबाट इमेल आएको रहेछ। तैले गरेको बुकिङको छिटो पैसा तिर भन्दै। एलिनले त त्यो बेला बुकिङ मात्र पो गरेदिएकी रहिछे। मसँग मास्टरकार्ड थिएन। मैले एयरोफेल्टलाई रिप्लाई नै गरिन जसरी एलिनले यहाँबाट उडेपछि मेरो इमेलको रिप्लाइ गरिन।


त्यस वर्ष यता मैले प्रणय दिवस मनाएको छैन कारण माथि नै भनिसकें, भ्यालेन्टाइन पाएको छैन। यस वर्ष तिमीले भ्यालेन्टाइनको उपलक्ष्यमा उपहारको आशा राखेकी बतायौ। म भ्रममा छैन भने तिमीले पक्कै पनि मलाई भ्यालेन्टाइन ठानेकी हौ। त्यसैले मैले सोचें भ्यालेन्टाइन डे मा केही उपहार त तिमीलाई दिनैपर्छ। अनि लाग्यो, आफूभित्र केही नराखेर आफ्ना सबै विगत बताउनु भन्दा राम्रो उपहार एक जना प्रेमीकाका लागि के हुन सक्ला। ह्याप्पी भ्यालेन्टाइन डे..
उही प्रीय
दीपक

No comments: